यही चैत ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हेल्लो जिन्दगी’को रिलिज पोस्टपोन्ड भएको छ । पूर्वघोषित मितिमा साउथको ठूलो चलचित्र ‘आरआरआर’ आउने भएपछि चलचित्रको रिलिज पोस्टपोन्ड भएको हो । अब यो चलचित्र चैत १८ गतेबाट प्रदर्शनमा आउनेछ । अहिलेसम्म यो मितिमा अरु नेपाली र विदेशी चलचित्रले प्रदर्शन घोषणा गरेका छैनन् ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रमा विक्रम डि जोशी, दीपिका प्रसाई, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन बेलायतमा भएको हो ।
सत्य घटनाबाट प्रभावित चलचित्रको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी छन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । चलचित्रको कथा लेखनमा निर्देशक बोहरालाई विक्रम डि जोशीले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले मिलेर तयार पारेका हुन् । ‘हेल्लो जिन्दगी’मा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।


