चैत ४ गते शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चिसो एष्ट्रे’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । रिलिजको पूर्वसन्ध्यामा मंगलवार साँझ सुन्धाराको सिभिल मलमा आयोजना भएको प्रिमियरमा चलचित्रकर्मीहरुले निर्देशन, कलाकारको अभिनय, छायांकन पक्ष, कथावस्तुको खुलेर प्रशंसा गरे । केहीले चलचित्रलाई हलिउड स्तरको भन्दै प्रशंसा पनि गरेका थिए ।

नेपाली चलचित्रको प्रिमियरमा कमै उपस्थित हुने अभिनेता राजेश हमालले ‘चिसो एष्ट्रे’ राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने- ‘विशेषगरी युवापुस्ताले चलचित्रलाई बढी रिलेट गर्नुहुन्छ होला । चलचित्रमा युवापुस्ताको आकांक्षा, प्राप्ति, हार, जित, मित्रता सबै समेटिएको छ । काठमाडौंमा बस्ने जो कोहीलाई चलचित्रको कथाले छुन्छ । ‘चिसो एष्ट्रे’ सिनेमाको पारखीहरुले नछुटाइ हेर्नुपर्ने चलचित्र हो ।’
कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछाने आफूले नियमित हेर्ने गरेको चलचित्र र अभिनय गर्दै आएको चलचित्रभन्दा ‘चिसो एष्ट्रे’ एकदमै फरक रहेको बताउँछन् । कथा भन्ने शैली अझ फरक तरिकाले प्रस्तुत भएकोमा उनले खुसी व्यक्त गरे । त्यस्तै, निर्देशक निश्चल बस्नेतले चलचित्रमा सबै पक्ष राम्रो रहेको बताउँदै भिजुअल ल्याङ्वेजलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको धारणा राखे ।

‘चलचित्रमा धेरै पक्षहरु राम्रो छ । चलचित्रमा देखिनेभन्दा सोचिने कामहरु बढी भएको छ । चलचित्रमा सिनेम्याट्रिक प्रस्तुति कुन लेभलमा हुनुपर्छ भन्ने ‘चिसो एष्ट्रे’ले देखाउँछ । भिजुअल ल्याङ्वेजलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । हरेक कुरालाई चलचित्रमा निकै राम्रोसँग प्रस्तुत गरिएको छ । यद्यपि, केही कमजोरी भने नखड्किने होइन तर चलचित्र जस्तो छ राम्रो छ,’ निर्देशक बस्नेतले भने ।
निर्देशक प्रदीप भट्टराई भने ‘चिसो एष्ट्रे’लाई हलिउड स्तरको चलचित्र भन्न रुचाउँछन् । उनी भन्छन्, ‘नेपाली चलचित्रको कथावाचन शैलीमा ‘लुट’पछि ठूलो परिवर्तन आएको थियो । अब ‘चिसो एष्ट्रे’ले भिजुअल ल्याङ्वेजमा अर्को फड्को मार्छ भन्ने आश जगाएको छ । नेपाली चलचित्र हलिउड स्टाइलको भएन भन्ने धेरैको गुनासो हुने गरेको छ । यो चलचित्र चाहिँ हलिउड लेभलकै बनेको हो ।’

कलाकार सन्तोष पन्तले पनि ‘चिसो एष्ट्रे’ हलिउड स्तरको रहेको बताए । ‘चलचित्र हलिउड स्तरको जस्तो छ । युवापुस्ताले चलचित्रलाई साह्रै नै मन पराउनेछन् । चलचित्रको स्टाइल एकदमै राम्रो छ,’ उनले भने, ‘कलाकारहरुले जुन-जुन चरित्रमा अभिनय गर्नुभएको छ, त्यसमा पूर्ण न्याय गर्नुभएको छ । हरेक कलाकारको अभिनय लाजबाब छ । सबैले एकपटक चलचित्र हेर्नैपर्छ जस्तो लाग्छ ।’
चलचित्रको प्रिमियरमा कलाकार सन्दिप क्षेत्री, अभिनेत्री ऋचा शर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, गायक बालेन, अभिनेता महेश त्रिपाठी लगायतको उपस्थिति रहेको थियो । प्रियिमरमा चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ । निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रले काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको कथालाई देखाएको छ ।

भूपि शेरचनको कविता ‘चिसो एष्ट्रे’बाट प्रभावित भएर निर्माण भएको चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । दिन्स पाल्पालीले निर्देशन गरेको चलचित्रको निर्माण महेशबाबु तिमल्सिनाले गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको चलचित्रको सह-निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् ।


