पर्वत कलाकार समाज नेपालको दोश्रो अधिवेशनबाट गायक कुलेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मतबाट तय भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कृष्ण समीप सुवेदी, उपाध्यक्षमा कुमार केसी, महासचिवमा प्रल्हाद सुवेदी, सचिवमा सुजन बराईली, कोषाध्यक्षमा सुश्मा लोहनी र सह-कोषाध्यक्षमा लक्षु प्रकाश मल्ल चयन भएका छन् ।

त्यस्तै, अधिवेशनले समाजका सदस्यहरुमा भिम बहादुर पौडेल, रमेश सेन्चुरी, सुरज श्रेष्ठ, सृजना जिसी, संकल्प सुवेदी, कल्पना काफ्ले र दिपिका पौडेललाई चयन गरेको छ । यसअघि पर्वत कलाकार समाजको अध्यक्षमा सर्जक तथा गायक कस्तुप पन्त अध्यक्ष थिए । नयाँ कार्यसमिति तय भएपछि पन्त विधानअनुसार समाजको संरक्षक बनेका छन् ।

अधिवेशनबाट अध्यक्षमा चयन भएपछि गायक विश्वकर्माले कलाकर्मलाई सम्मुनत बनाउने र कलाकारको आत्मसम्मान सृजना गर्ने काम पर्वत कलाकार समाजले गर्ने बताएका छन् । अधिवेशनमा पत्रकार नारायण अमृत, पर्वतका पत्रकार तथा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन कुमार पराजुली, पर्वतका युवा समाजसेवी डाक्टर केदार सुवेदी, ईश्वरी पन्त, युवा उद्यमी शिव वास्तोला लगायतको उपस्थिति रहेको थियो ।