
काठमाडौं – भारतीय ओटीटी प्लेटफर्ममा नेपाली कलाकारले आफ्नो दमदार उपस्थितिमार्फत तहल्का मच्चाउन सफल भएका छन्। भर्खरै भारतको चर्चित ओटीटी प्लेटफर्म ‘प्राइम भिडियो’ मा रिलिज भएको नयाँ हिन्दी वेब सिरिज ‘द पिरामिड स्किम’ अहिले सफलताको शिखर चढिरहेको छ। यसै हिट सिरिजमार्फत नेपालका उदीयमान कलाकार झलनाथ खत्रीले बलिउडका दिग्गज कलाकारहरूसँगै स्क्रिन सेयर गर्दै भारतीय दर्शकको मन जित्न सफल भएका हुन्।
सिरिजमा झलनाथको चरित्र र भूमिका निकै चुनौतीपूर्ण र मर्मस्पर्शी छ। कथामा बाल्यकालमै पोलियो रोगको सिकार हुन पुगेको उक्त पात्रलाई पछि अर्को एउटा परिवारले धर्मपुत्र बनाएर पाल्छ। यस सिरिजमा उनले तिनै परिवारको एक सेवकको गम्भीर भूमिका निर्वाह गरेका छन्।
पोलियो ग्रस्त तर भावनात्मक रूपमा निकै गहिरो यो चरित्रलाई झलनाथले यति जीवन्त र प्राकृतिक रूपमा पर्दामा उतारेका छन् कि, यतिबेला भारतभर उनको अभिनयको खुलेर तारिफ भइरहेको छ।
दिल्लीको अस्मिता थिएटर ग्रुपमा अभिनय गरेका तथा नेपालको अस्कर कलेजबाट अभिनयमा स्नातक गरेका झलनाथ खत्रीले मुम्बई पुगेर कडा अडिसन पार गर्दै यस सिरिजमा यो महत्त्वपूर्ण भूमिका हात पारेका थिए। भारतमा मात्र नभई नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा हेरिएको यो सिरिज अहिले प्राइम भिडियोको ट्रेन्डिङ लिस्टको दोस्रो नम्बरमा सानका साथ कब्जा जमाउन सफल भएको छ।
यस सिरिजको कथा ‘गोल्डी’ नामक एक महत्त्वाकांक्षी तर अधैर्य युवाको वरिपरि घुम्छ। रातारात धनी बन्ने ठुलो सपना बोकेर पिरामिड मार्केटिङ (नेटवर्किङ व्यवसाय) को जालोमा फस्ने गोल्डीको जीवनमा आउने उतारचढावलाई यसमा देखाइएको छ। छिट्टै पैसा कमाउने दौडमा उसले कसरी आफ्नो भविष्यलाई मात्र जोखिममा पार्दैन, बल्कि आफ्नो एकाघरको संयुक्त परिवारको माया र अटुट विश्वासलाई समेत तहसनहस बनाउँछ भन्ने कुरालाई सिरिजमा निकै रोचक, सस्पेन्स र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।

यस सिरिजमा परमवीर चिमा, रणवीर शौरी, अन्जन श्रीवास्तव, शेखर सुमन, सुशान्त सिंह, अखिलानन्द मिश्रा, स्मिता बन्सल र इन्द्रेश मलिक जस्ता बलिउडका दिग्गज र अनुभवी स्टारहरूको ठुलो फौज रहेको छ। यस्तो शक्तिशाली स्टारकास्टका बीच नेपाली कलाकारले आफ्नो बलियो स्पेस बनाउनु आफैँमा गर्वको विषय हो।
‘द पिरामिड स्किम’ लाई भारतको सबैभन्दा सफल र लोकप्रिय कन्टेन्ट निर्माता कम्पनी द भाइरल फिभर (TVF) ले निर्माण गरेको हो। अरुणाभ कुमारको निर्माण तथा श्रेयंश पाण्डेको परिकल्पना (क्रिएसन) रहेको यस सिरिजलाई आशिष आर शुक्ला र श्रेयंश पाण्डेले संयुक्त रूपमा निर्देशन गरेका हुन्।
भारतीय युवाहरूको यथार्थपरक कथा र मध्यमवर्गीय परिवारको भोगाइलाई पर्दामा जस्ताको तस्तै उतार्न खप्पिस मानिने TVF ले डिजिटल दुनियाँमा क्रान्ति नै ल्याएको छ। यसअघि TVF ले ‘पिचर्स’, ‘कोटा फ्याक्ट्री’, ‘पञ्चायत’, र ‘गुल्लक’ जस्ता मास्टरपिस वेब सिरिजहरू दिइसकेको छ। अहिले त्यही प्रतिष्ठित र सफल ब्यानरको नयाँ सिरिजमार्फत नेपाली युवा झलनाथ खत्रीले बलिउडमा आफ्नो सुनौलो यात्रा तय गरेका छन्।




