‘शमशेर’ नाममा नेपाली चलचित्र निर्माण हुने भएको छ । एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत शमशेरको भूमिकामा देखिनेछन् ।

बुधवार निर्माण टिमले चलचित्रको निर्माण घोषणा गर्दै फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मनिष हातमा खुकुरी बोकेर देखिएका छन् । उनको अनुहारमा रिस र विद्रोही भाव देखिन्छ । चलचित्र ‘प्रेमगीत ३’बाट नायकको रुपमा डेब्यू गरेका मनिषको ‘शमशेर’ दोस्रो चलचित्र हो ।
चलचित्रमा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । अर्जुन पोखरेलको संगीत रहने चलचित्रलाई गौरी शंखर र विकाश सिटौलाले मिलेर खिच्नेछन् । काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा खिचिने चलचित्रको निर्माणमा सीबर्ड्स इन्टरटेनमेन्टले सहकार्य गरेको छ ।


