पल शाहविरुद्ध नवलपरासी जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता, १४ वर्षसम्मको जेल सजाय माग



अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार दिउँसो शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो । एक नाबालिग गायिकाले जबर्जस्ती करणीको अभियोगमा दिएको जाहेरीको आधारमा अहिले प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार, शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको नेपालीले बताए ।

त्यस्तै, यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत माग दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए । अभियोगपत्रमा शाहलाई तनहुँबाट झिकाउने भन्ने पनि उल्लेख छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुनेछ ।

फागुन ११ गते नाबालिगले शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि नवलपरासीमा पनि नाबालिगले जाहेरी दिएकी थिइन् । तनहुँ प्रहरी कार्यालयमा जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका पल शाहसँग अहिले तनहुँ प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गत हप्ता शाहलाई अनुसन्धानका लागि तनहुँबाट नवलपरासी पनि लगिएको थियो । नवलपसारीमा अनुसन्धानपछि शाहलाई तनहुँ फर्काइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu