चलचित्र ‘चिसो एष्ट्रे’ले शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको छ । निर्माणको ७ वर्षपछि सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले देशभरका मल्टीप्लेक्सहरुमा सु्खद् शो पाएको छ । बक्सअफिसमा बलिउड चलचित्र ‘बच्चन पान्डे’ र रिलिजको एक हप्तापछि नेपाल भित्रिएको अर्को बलिउड चलचित्र ‘द कश्मीर फाइल्स’सँग भिडन्त गरेको ‘चिसो एष्ट्रे’ले ट्रेलरबाटै ठूलो आश जगाएको थियो ।

काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको संघर्षको कथालाई उठान गरिएको चलचित्र भूपि शेरचनको ‘चिसो एस्ट्रे’ कविताबाट प्रभावित भएर निर्माण भएको हो । गाउँबाट सहर आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने कथामा आधारित रहेको चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको अभिनय छ ।
दिन्स पाल्पाली निर्देशित चलचित्रमा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको चलचित्रको सह-निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । चलचित्रमा उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ ।


