नाबालिग गायिकामाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि दुई पटक म्याद थप भइसकेको छ । पहिलो पटक ७ दिन र दोस्रो पटक १२ दिन म्याद थप गरी पलसँग प्रहरीले अनुसन्धान गरेको थियो ।

अब भने तनहुँ प्रहरी कार्यालयले ५ दिनभित्र सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने छ । तनहुँ अदालतबाट म्याद लिइरहेकै समयमा पू्र्वी नवलपरासी प्रहरीले पनि शाहविरुद्ध अनुसन्धान सकेर बिहीबार अदालतमा मुद्धा दर्ता गरेको थियो । ती गायिकाले बलात्कार गरेको भन्दै गत फागुनमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी प्रहरीमा उजुरी दिएकी थिइन् ।
नाबालिग गायिकाले शाहमाथि ललाई-फकाई गरी पटक-पटक जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । तर, पलले भने प्रहरीसँगको बयानमा नाबालिगसँग न प्रेम सम्बन्ध न शारीरिक सम्बन्ध राखेको बताएका छन् । यद्यपि, जिल्ला अदालत नवलपुरमा दायर भएको अभियोग पत्रमा रहेको उनको बयानमा उनले नवलपरासीको रिसोर्टमा साढे ११ बजे नाबालिगको कोठामा गएको स्वीकार गरेका छन् ।


