यही चैत १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेल्लो जिन्दगी’को प्रमोशन र रिलिजका लागि अभिनेता तथा निर्माता विक्रम डि जोशी नेपाल आएका छन् । बेलायतमा बस्दै आएका उनले चार वर्षपछि शुक्रवार मातृभूमि टेकेका हुन् । उनलाई निर्देशक एभरेष्ट सूर्य बोहरा, निर्मात्री तथा अभिनेत्री सविता गुरुङलगायतले पञ्चकन्यासहित त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

चलचित्रमा विक्रमको मुख्य भूमिका छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले हरेक कोणबाट चलचित्र गुणस्तरीय बनेकाले आफू निकै आशावादी रहेको बताए । श्रीमती तथा ‘हेल्लो जिन्दगी’की निर्मात्री हिराल जोशीको साथमा नेपाल आएका उनले दर्शकलाई चलचित्रले निराश नबनाउने दाबी समेत गरेका छन् ।
‘हेल्लो जिन्दगी’मा विक्रमका साथमा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय छ । सत्य घटनाबाट प्रभावित यस चलचित्रको निर्माता विक्रम डि जोशी र हिराल जोशी, कार्यकारी निर्माता सृजना जोशी महर्जन र सह-निर्मात्री सबिता गुरुङ हुन् ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा डि क्रिएटिभ स्टुडियो युके र काम्मा इन्टरटेन्मेन्ट इन्डिया लाइन प्रोड्युसर छन् । चलचित्रको केही दिनअघि ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको थियो । यसै साता लोकशैलीको एक गीत सार्वजनिक गरिने निर्देशक बोहराले जानकारी दिए ।


