वर्षाले ‘दुई नम्बरी’ छाड्ने सम्भावना



कोरोना महामारीका कारण अधुरैमा छायांकन रोकिएको चलचित्र ‘दुई नम्बरी’को चैत १५ गतेबाट पुनः छायांकन सुरु हुँदैछ । फेरि सुरुबाटै छायांकन गर्न लागिएको चलचित्रमा निर्मातादेखि कलाकारसम्म परिवर्तन भएका छन् । पहिला छायांकन हुँदा चलचित्रको मुख्य भूमिकामा अभिनेता पल शाह थिए । अहिले उनी बलात्कारको आरोपमा प्रहरी हिरासतमा भएकाले निर्माण टिमले उनको ठाउँमा अभिनेता सौगात मल्ललाई अनुबन्ध गरेको छ ।

अब चलचित्रमा मुख्य नायिका पनि हेरफेर हुने सम्भावना बढेको छ । अर्को चलचित्रसँँग सेड्युल जुध्ने भएपछि अभिनेत्री वर्षा राउतले ‘दुई नम्बरी’बाट हात झिक्न लागेकी हुन् । उनले भनेकी छन्, ‘निर्माण टिमले भन्नुभएको समयमा मेरो समय मिल्ला जस्तो देखिन्न । किनकि, मैले पहिल्यै चैत महिनाको समय अर्को प्रोजेक्टका लागि वचन दिइसकेको छु । त्यसैले चैत १५ बाटै छायांकन सुरु भयो भने ‘दुई नम्बरी’ नगर्न सक्छु ।’

वर्षाको समय नमिल्ने भएपछि निर्माण टिमले अरु अभिनेत्रीसँग कुराकानी अगाडि बढाएको छ । स्रोतका अनुसार, अभिनेत्री उपासना सिंह ठकुरीसँग निर्माता र निर्देशकले केही चरण कुराकानी गरेका छन् । उपासना चलचित्रलाई लिएर सकारात्मक रहेको बुझिएको छ । उनलेचलचित्रमा काम गरेको खण्डमा सौगात मल्लसँग उनको जोडी बाँधिनेछ । सौगात उनको मनपर्ने अभिनेता हुन् ।

दीपेन्द्र लामाको निर्देशन बन्ने ‘२ नम्बरी’मा सौगातसँगै दयाहाङ राई, उगेन छोदेन लगायतको मुख्य भूमिका रहनेछ । दुईजना साथीको मित्रताको कथामा बन्न लागेको चलचित्रलाई आउँदो वर्षको कार्तिक ४ गते तिहारमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दीपक मनाङ्गे र अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu