चलचित्र ‘शमशेर’मा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । आइतवार निर्माण टिमले फिल्ममा गौरव अनुबन्ध भएको जानकारी दिँदै सार्वजनिक गरेको फर्स्टलुक पोस्टरमा उनी डरलाग्दो अवतारमा देखिएका छन् । चलचित्रमा उी राघवको भूमिकामा देखिनेछन् ।

चलचित्रमा शमशेरको भूमिकामा अभिनेता मनिष राउत देखिँदैछन् । एक्सन जनरामा बन्ने फिल्म मनिष र गौरवबीचको भिडन्तमा केन्द्रित हुने बताइएको छ । एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको संयुक्त लगानी रहने चलचित्र एक्सन जनरामा बन्न लागेको हो । अहिले निर्माण टिमले मनिषको अपोजिटका लागि नायिकाको खोजी गरिरहेको छ ।
चलचित्रमा मनिष र गौरवसँगै सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । चलचित्रलाई गौरी शंखर र विकाश सिटौलाले मिलेर छायांकन गर्नेछन् । काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा खिचिने चलचित्रको निर्माणमा सीबर्ड्स इन्टरटेनमेन्टले सहकार्य गरेको छ ।


