अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व–दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्ने भएका छन् । सोमवार निर्मात्री ढुंगानाले चन्द्रसँग कागजी सम्झौता गरेकी हुन् । यसअघि यो चलचित्रलाई नीता आफैंले निर्देशन गर्ने चर्चा थियो । तर, उनले निर्देशनबाट पछाडि हट्दै द्वन्द्व निर्देशक चन्द्रलाई एक्सन-कटको जिम्मेवारी दिएकी हुन् ।

नीता र हरिहरको जोडी बाँधिने चलचित्रको छायांकन आगामी वर्षको साउनपछि मात्र सुरु हुनेछ । नीता फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने जानकारी प्राप्त छ । नेपाली र हिन्दी भाषामा निर्माण हुन लागेको चलचित्रमा बलिउडका केही चर्चित कलाकारहरुको पनि अभिनय रहने बताइएको छ ।
निर्माता तथा अभिनेता हरिहर अधिकारीले चलचित्र निर्माणमा बलिउडको ठूलो प्रोडक्सन हाउससँग सहकार्य हुनसक्ने बताए । उनले चलचित्रलाई भारतको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिजका लागि पनि प्रयास भइरहेको जानकारी दिए । ७ करोड लागत अनुमान गरिएको चलचित्रमा प्रायः प्राविधिकहरु बलिउडबाटै झिकाउने तयारीमा निर्माण टिम छ ।


