‘बाबु साहेब’ असफल हुँदा उद्योगका धेरै मानिस खुसी थिए : करिश्मा मानन्धर



देशमा माओवादी जनयुद्ध उत्कर्षमा थियो । जनयुद्धको त्रासले सिनेमा हलमा दर्शक जान छाडिसकेका थिए । त्यही बेला अभिनेत्री करिश्मा मानन्धरका श्रीमान् तथा निर्माता विनोद मानन्धरले निर्माण गरेको चलचित्र ‘बाबु साहेब’ प्रदर्शनमा आएको थियो । तर, चलचित्र जनयुद्धको चेपुवामा पर्‍यो । ठूलो लगानीमा बनाएको चलचित्र नचलेपछि करिश्मा निराश भएर सन् २००३ मा अमेरिका उडिन् ।

आफ्नो चलचित्र असफल हुँदा उद्योगका धेरै मानिसहरु खुसी भएको करिश्मा सम्झिन्छिन् । चलचित्र पत्रकार जीवन पराजुलीले लेखेको ‘क्लोज-अप’ पुस्तकमा उनले ती दिन सम्झँदै भनेकी छन्, ‘खुब घमण्ड देखाउँन्थिस्, खाइस् भन्ने खालका व्यवहार उद्योगमा धेरैले देखाएको मैले पाएँ । रिलिज भएको तेस्रो दिनमा नै चलचित्रको प्रदर्शन रोकियो । चलचित्र घाटामा गएपछि म अमेरिका गएँ ।’

करिश्माले कुनै दिन विदेश जानु परे अमेरिका नै जाने सोच बनाएकी थिइन् । अमेरिकामा उनका ससुराको रेस्टुरेन्ट व्यवसाय पनि थियो । तर, करिश्माले आफ्नो अमेरिका बसाईं त्यति लामो हुन्छ भन्ने सोचेकी थिइनन् । विनोदलाई पनि उनी केही महिनामै नेपाल आउने लागेको थियो । तर, करिश्मा फर्किनन् । पछि विनोद आफैं अमेरिका गए । करिश्माले पाँच वर्ष अमेरिकामा नै विताइन् ।

अमेरिका जानु परेकोमा उनलाई कुनै पछुतो छैन । करिश्माले पुस्तकमा भनेकी छन्, ‘म अमेरिका नगएको भए यता डिप्रेसनमा पर्ने थिएँ । जाबो एउटा चलचित्र नचल्दा त्यस्तो हुने रहेछ । नेपालमा बसिरहेको भए अरु पनि असफलता आउन सक्थ्यो ।’ सन् २००९ मा सधैंका लागि नेपाल फर्किएकी उनले त्यसपछि चलचित्र ‘फागु’ निर्माण गरेकी थिइन् । अहिले उनी अध्ययनमा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu