करिश्मा मानन्धर एमालेमा प्रवेश



नेपाली चलचित्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) मा प्रवेश गरेकी छन् । मंगलवार काठमाडौँको कार्की ब्याङ्क्वेटमा आयोजित एक कार्यक्रममा उनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा लगाएर स्वागत गरेका हुन् । सातो साडी लगाएर कार्यक्रममा उपस्थित भएकी करिश्मा पार्टी प्रवेश गर्दा खुसी मुद्रामा देखिएकी थिइन् ।

तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी उनले दुई वर्षमै पार्टी परित्याग गरेकी थिइन् । त्यसपछि अध्ययनमा व्यस्त रहेकी उनी केपी शर्मा ओलीको व्यक्तित्वबाट एमालेप्रति आकर्षित भएकी थिइन् । कक्षा १२ को परीक्षा दिइरहेको समयमा उनलाई ओलीले फोन गरेर शुभकामना समेत दिएका थिए । त्यसयता करिश्मा र ओलीबीच निरन्तर संवाद हुँदै आएको थियो ।

पार्टी प्रवेश गर्दै उनले भनेकी छन्, ‘मैले कलाकारिताको माध्यमबाट मुलुकलाई योगदान गरिरहेको छु । आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट लिएको छु । केपी शर्मा ओलीको व्यक्तित्व र प्रतिबद्धताबाट प्रभावित भएरै मैले एमाले रोजेको हुँ । एमालेले महिलालाई सधैं अगाडि बढाउँदै आएको छ र मुलुकको वास्तविक एजेन्डा बोकेको छ । यसैले मैले एमाले रोजेको हुँ ।’

उनले कुनै बार्गेनिङ गरेर एमाले प्रवेश नगरेको पनि स्पष्ट पारिन् । अध्यक्ष ओलीतर्फ हेर्दै उनले अगाडि भनिन्, ‘म सौदाबाजी गरेर एमालेमा प्रवेश गरेको होइन । न त कुनै माग राखेको छु । म एमालेको कार्यकर्ता हुन आएको हुँँ । तर, पार्टीले कुनै जिम्मेवारी दिए काम गर्नेछु । मेरो राजनीतिक यात्रा सँगै एमालेको भविष्य पनि राम्रो देखेको छु । एमाले पार्टी सबै जनताको मन-मनमा रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu