अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता भएको छ । एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा रहेका शाहमाथि २१ दिन लामो अनुसन्धान गरेपछि सोमवार तनहुँ जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो । प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलको कार्यालयले मंगलवार दिउँसो अदालतमा मुद्धा दर्ता गरेको हो ।

प्रहरीको अनुसन्धानमा नाबालिका १६ वर्षभन्दा मुनि देखिएकाले शाहलाई १२ देखि १४ वर्ष कैद सजाय र कानुन बमोजिम मनासिब क्षतिपूर्तिको माग दाबीसहित अदालतमा मुद्धा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । शाहविरुद्ध यसअघि सरकारी वकिलको कार्यालयले नवलपरासीको अदालतमा बलात्कारको मुद्धा दर्ता गरिसकेको छ ।
नाबालिग गायिकाले गत फागुन ११ गते तनहुँ प्रहरी कार्यालय र फागुन १५ गते नवलपरासी प्रहरी कार्यालयमा पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा जोहरी दिएकी थिइन् । ती नाबालिगले तनहुँमा जाहेरी दिएको चार दिनपछि शाहले आत्मसमर्पण गरेका थिए । ती नाबालिगले विभिन्न प्रलोभन देखाएर विभिन्न ठाउँमा पटक-पटक करणी गरेको आरोप पल शाहमाथि लगाएकी छन् ।


