नेपाली चलचित्रमा अभिनय गर्ने हुटहुटी अझै मरेको छैन : तृप्ति नाडकर



एक समय नेपाली चलचित्रमा तृप्ति नाडकरको एकछत्र राज थियो । उनले जुन चलचित्र छोयो, त्यही सुपरहिट हुन्थे । चलचित्र ‘सम्झना’बाट अभिनय यात्रा सुरु गरेकी उनले त्यसपछि ‘साइनो’, ‘कुशुमे रुमाल’, ‘लाहुरे’, ‘कोसेली’ जस्ता यादगार चलचित्रमा अभिनय गरिन् । पछिल्लो पटक २०७० सालमा चलचित्र ‘मानव’मा देखिएकी उनी यो चलचित्र असफलता भएपछि पर्दाबाट हराएकी छन् ।

अहिले तृप्तिको व्यवसायिक जीवनले कोल्टे फेरिसकेको छ । कुनै समय क्यामेराको अगाडि एक्सन-कटमा व्यस्त हुने उनी केही वर्षयता शिक्षिका बनेकी छन् । उनले पत्रकार जीवन पराजुलीद्वारा लिखित ‘क्लोज-अप’ पुस्तकमा भनेकी छन्, ‘म झण्डै सात वर्षदेखि फुलटाइमर शिक्षिका बनेकी छु । प्रि-प्राइमरी सेक्सनका स-साना बच्चाहरुलाई पढाउँछु, सिकाउँछु । मैले समयको सदुपयोग गरेकी छु । हरेक मानिस व्यस्त रहन आवश्यक छ ।’

भारतमा रहेकी तृप्ति नेपाल नआएको आठ वर्ष भइसकेको छ । उनले नेपाली चलचित्रमा फर्किने प्रयास गरेपनि विभिन्न कारणले सम्भव हुन सकेन । तर, नेपाली चलचित्रमा अभिनयको हुटहुटी अझै नमरेको उनी बताउँछिन् । ‘अहिले म स्कुलमा बालबालिकासँग व्यस्त छु । तर, अफर आयो भने चलचित्रको काम गर्छु । स्क्रिप्ट क्लिक भयो भने म जहिल्यै पनि नेपाली चलचित्रमा आउनेछु,’ उनले भनेकी छन् ।

तृप्तिको भारत जन्मभूमि र नेपाल मातृभूमि हो । उनले नेपाली चलचित्रमा आउनुभन्दा अगाडि चारवटा मराठी चलचित्रमा अभिनय गरिसकेकी थिइन् । पिता मराठी चलचित्रको निर्माता भएकाले उनले बाल्यकालदेखि नै अभिनय गर्दै आएकी थिइन् । उनले निर्देशक आनन्द मेहेन्दुको हिन्दी सिरियल ‘लिलिपुट’मा अभिनेता ऋषि कपुरसँग बाल कलाकारको रुपमा समेत अभिनय गरेकी थिइन् ।

निर्देशक द्वय शम्भु प्रधान र तुलसी घिमिरेले नेपाली चलचित्रमा नयाँ अनुहार ल्याउने उद्देश्यसहित तृप्तिको अभिनय हेर्न सुटिङ सेटमा पुगेका थिए । शम्भु उनको अभिनयबाट प्रभावित भए र उनको घरमै पुगेर चलचित्रको प्रस्ताव राखे । त्यसबेला तृप्तिलाई नेपाली बोल्न समेत आउँदैन थियो । उनलाई नेपाली भाषा सिकाउन तुलसी घिमिरे र उनकी श्रीमती भारतीले धेरै सहयोग गरेका थिए ।

अभिनेत्री नाडकरले नेपाली भाषा सिक्नका लागि भएको कठिनाईबारे पुस्तकमा भनेकी छन्, ‘मलाई ‘सम्झना’को स्क्रिप्ट दिइएको थियो । संवाद निकै गाह्रो लाग्यो, किनकि लामालामा थिए । सम्झेर बोल्न सकिँदैन थियो । मलाई नेपाली भाषा सिकाउन निर्देशक तुलसी घिमिरे, भारती भाउजु र निर्देशक शम्भु प्रधानले धेरै सहयोग गर्नुभयो ।’

८ वर्षदेखि नेपाली चलचित्रबाट टाढा भएपनि तृप्तिका छोराले भने नेपाली चलचित्रमा नायकको रुपमा डेब्यू गरेका छन् । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’मा उनका छोरा धिरज नाडकरको मुख्य भूमिका छ । यो चलचित्र आउँदो भदौ ३१ गते प्रदर्शनमा आउँदैछ । तृप्ति छोराले नेपाली चलचित्रमा अभिनय गरेकोमा निकै खुसी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu