बैशाख पहिलो साता लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने



काठमाडौँ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गतेदेखि ७ गतेसम्म गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरुलाई सहभागी गराइनेछ । मंगलवार महोत्सव हुने स्थान र मितिको घोषणा गर्दै चलचित्र दर्ताका लागि आह्वान पनि गरिएको छ । महोत्सवमा सहभागी हुन चाहने चलचित्रले [email protected] मा इमेल गरेर सहभागिता जनाउन सक्नेछन् ।

सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी गराइने जानकारी दिए । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्रहरु स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रदर्शन हुने चलचित्रको टिम र दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने बिषयमा वर्कशप हुने र चलचित्रकर्मीहरुको बीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धि अन्तरक्रिया पनि हुने अध्यक्ष सापकोटाले बताए ।

महोत्सवमा लाप्राकको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने गरी विभिन्न प्रस्तुति हुने जानकारी दिँदै रघुनाथले भनेका छन्, ‘दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका चलचित्रहरुलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।’

चलचित्र महोत्सव तथा चलचित्रसँग सम्बन्धित गतिविधि काठमाडौँ तथा मुख्य शहरहरुमा मात्र केन्द्रित भएको अवस्थामा ग्रामीण क्षेत्रमा हुने यो महोत्सवले स्थानीय जनताबीच नेपाली चलचित्र र चलचित्रकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली चलचित्र हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu