पर्यटनमन्त्री प्रेम आले मगर र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल संवाद भएको छ । जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुन लागेको ‘द ब्याङ रिलोडेड टुर’को जानकारी दिन बुधवार काठमाडौंको होटल सोल्टीमा आयोजित एक कार्यक्रममा उनीहरुबीच करीब ७ मिनेट लामो संवाद भएको हो । मन्त्री आलेले सलमानलाई ‘नमस्कार’ गर्दै संवादको थालनी गरेका थिए ।
हिन्दी, मराठी र अंग्रेजीमा सम्बोधन गरेका प्रेम आलेले सलमानलाई आफू ठूलो फ्यान रहेको बताए । ‘म तपाईंको ठूलो फ्यान हुँ । मैले तपाईंको प्रायः चलचित्र हेरेको छु । ‘मैंने प्यार किया’, ‘बीवी हो तो ऐसी’ जस्ता चलचित्र हेरेको छु,’ मन्त्री आलेले भने । जवाफमा सलमान खानले ठट्यौली शैलीमा ‘बीवी हो तो ऐसी’ कमै मानिसले हेरेको भएपनि यही चलचित्रबाट आफू इन्डस्ट्रीमा आएको बताए ।

मन्त्री आलेले सलमानलाई नेपालमा टिभी शो र चलचित्र छायांकनको पनि निम्तो दिए । ‘तपाईंलाई टिभी शो र चलचित्र छायांकनका लागि नेपालमा स्वागत गर्न चाहन्छु । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि पनि तपाईंलाई नियन्त्रण गर्न चाहन्छु,’ उनले अगाडि भने, ‘यदी तपाईंको समय भएको खण्डमा माउन्ट फ्ल्याइटमार्फत् माउन्ट एभरेष्ट पनि घुमाउन चाहन्छु ।’
मन्त्री आलेको निम्तो स्वीकार गर्दै सलमानले नेपाल आएको समयमा सगरमाथाको अवलोकन गर्ने वाचा गर्दै कथावस्तुले मागेको खण्डमा नेपालमा छायांकन गर्न तयार रहेको पनि बताए । प्रेम आलेले नेपालको पर्यटन प्रवद्र्धनलाई सघाउन ‘द ब्याङ रिलोडेड टुर’ले सहयोग गर्ने आशा व्यक्त गरे । साथै, उनले कोरोनाको तेस्रो भेरियन्टपछि नेपाल खुल्ला भइसकेको पनि जानकारी गराए ।
त्यस्तै, सलमानले आफू धेरै वर्षपछि नेपाल आउन लागेको बताए । उनले भने, ‘म ‘बुलन्द’ चलचित्रको सुटिङका लागि नेपाल आएको थिए । त्यसैबेला नेपालमै ‘खुदा गवाह’ चलचित्रको पनि छायांकन भइरहेको थियो । त्यसपछि नेपाल आउन पाएको थिइनँ । यसअघि ‘दबंग टूर’कै लागि नेपाल आउने तयारी थियो तर विभिन्न कारणले हुन सकेन । अब भने नेपाल आउँदैछु, मेरो टिम नै खुसी छ ।’
‘द ब्याङ रिलोडेड’का लागि सलमानसँगै ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, आयुष शर्मा, प्रभु देवा काठमाडौं आउने कार्यक्रम छ । कार्यक्रममा ३० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा आयोजक संस्था ओडीसीले लिएको छ । उक्त कार्यक्रमको लागि अप्रिल १३ मा सलमानका भाइ तथा अभिनेता सोहेल खान काठमाडौं आउने कार्यक्रम रहेको ओडीसीले जानकारी दिएको छ ।


