एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । बिहीवार थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको हो । अब शाहले कारागारमै रहेर कानुनी लडाईं लड्नु पर्नेछ ।
अदालतले जारी गरेको आदेश पत्रमा भनिएको छ, ‘१५ वर्षिय नाबालिगलाई विवाह गर्छु भनी प्रलोभन दखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले प्रतिवादी पूर्णविक्रम शाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा (१) को खण्ड (ख) बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पुर्जी दिइ कारागार कार्यालय, दमौली, तनहुँमा पठाइदिनु ।’

पल शाहले जबर्जस्ती करणी गरेको पूर्णतः अस्वीकार गरे पनि उनले गरेको वयान अनुसार घटना भएको दिन राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको स्वीकार गरेकाले जबर्जस्ती करणी गरेको तथ्यसँग मिलेको र घटना भएको दिन राति १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई स्वीकार गरेको अदालतको आदेशमा उल्लेख छ ।
अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश जारी गरेको छ । जबर्जस्ती करणी मुद्दामा मतियार बनेको अभियोगमा कृष्णमाथि मुद्धा दर्ता भएको थियो । नाबालिगले दिएको जाहेरीका आधारमा तनहुँको सरकारी वकिलको कार्यालयले मंगलवार शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।
पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए । जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । शाहले आत्मसमर्पण गरेकै दिन उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि सोही विषयमा जाहेरी परेको थियो । पललाई नवलपुर पुर्याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ चैतमा मुद्दा दर्ता भएको थियो ।