अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा बिग मुभिजमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स, विछोड, कमेडी मिश्रित छ । अनमोल र सुहानाको प्रेममा परिवार तगारो बनेपछि उत्पन्न हुने परिस्थितिलाई ट्रेलरमा देखाउन खोजिएको छ । ट्रेलर कलरफूल बनेको छ ।
झरना थापा निर्देशित चलचित्रमा रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुनिल कुमार थापाले निर्माण गरेको चलचित्र आउँदो बैशाख १ गते साउथको ठूलो चलचित्र ‘केजिएफ २’सँग बक्सअफिसमा भिडन्त गर्दैछ । जसका कारण चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा निर्माता थापाले आफ्नो मनमा यदाकदा डर पनि रहेको बताए ।

‘३ करोडमा बनेको चलचित्र ५ सय करोडमा बनेको साउथ चलचित्रसँग जुध्दैछ । मलाई यस्तो लागिरहेको छ बैशाख १ गते नेपाल र भारतको फुटबल म्याच हुँदैछ । रंगशालामा फुटबल खेल हुँदा हामी जसरी खेलाडीहरुको हौसला बढाउन झन्डा लिएर जान्छौं त्यसरी नै नेपाली चलचित्रलाई साथ र सहयोगको अपेक्षा राखेको छु । दर्शकहरुको साथ भयो भने हामीले अवश्य गोल हान्ने छौं ।’
अभिनेता अनमोल केसीले भने निर्माता थापालाई नडराउन ढाडस दिँदै प्रतिस्पर्धा गर्नका लागि नेपालबाट क्याप्टेन इशान खड्का (चलचित्र ‘क्याप्टेन’मा निर्वाहा गरेको चरित्र) रहेको बताए । उनले कार्यक्रममा भने, ‘कुन चलचित्र हेर्ने भन्ने अधिकार दर्शकहरुलाई छ । हामीले पनि राम्रो चलचित्र बनाउने प्रयास गरेका छौं । यत्ति चाहिँ भन्छु कि ‘ए मेरो हजुर ४’ नाक खुम्च्याउनु पर्ने चलचित्र बनेको छैन ।’
मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा झरना थापा र छेतन गुरुङले लेखेका हुन् । पटकथा र संवादमा उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । चलचित्रको यसअघि ‘सुन्तला’ र शिर्ष गीत सार्वजनिक भइसकेको छ ।