बलिउडका चर्चित अभिनेता राजपाल यादवलाई ५६ किलोको माला लगाएर नेपालमा स्वागत गरिएको छ । शनिवार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा आयोजित गोपाल सेवा समितिको ९औं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथीको रुपमा उपस्थित भएका उनलाई ५६ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको हो । उनी कार्यक्रममा सहभागि हुन शनिवार सर्लाही पुगेका थिए ।

कार्यक्रममा उनीसँग सेल्फी खिच्नका लागि ठूलो भीड लागेको थियो । उनले पनि आफूसँग सेल्फी खिच्न चाहने नेपाली प्रशंसकलाई निराश बनाएनन् । यसअघि केही पटक नेपाल आइसकेका उनी सर्लाही भने पहिलो पटक पुगेका हुन् । उनले कार्यक्रममा बोल्ने क्रममा नेपालको प्राकृतिक सुन्दरताको प्रशंसा गरेका थिए ।

करीब ५ वर्ष अगाडि उनी नेपाली र हिन्दी भाषामा बनेको चलचित्र ‘करोडपति’को छायांकनका लागि नेपाल आएका थिए । पछि यो चलचित्रलाई ‘कड्के कमाल के’ नाममा प्रदर्शन गरिएको थियो । राजपाल अभिनीत केही बलिउड चलचित्रको पनि नेपालमा छायांकन भएको छ । कुनै समय हाँस्य चरित्रमा राजपालले बलिउडमा एकछत्र राज गरेका थिए ।