आउँदो वर्षको भदौ अन्तिममा तीन नेपाली चलचित्रबीच भिडन्त हुने भएको छ । सबैभन्दा पहिला चलचित्र ‘बाबरी’ले भदौ ३१ गतेको मिति घोषणा गरेको थियो । अघिल्लो साता चलचित्र ‘लाखे’ले पनि यही मितिलाई प्रदर्शन मिति घोषणा गर्यो । अब यही मितिमा अर्को चलचित्र ‘झिंगेदाउ’ पनि प्रदर्शनमा आउने भएको छ । हालै निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्माको साथै अभिनेता द्वय मुकुन भुषाल र कुशल विष्ट फिचर्ड छन् । कसैलाई झम्टिन खोजेका कुशललाई मुकुनले पक्डेर बसेका छन् भने केकी र आँचल ‘तँ त र म म’ गर्दै चर्काचर्की गरेको भावभंगीमा देखिएका छन् । फिल्ममा उनीहरु देवरानी र जेठानीको भूमिकामा छन् ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको चर्चित कथा ‘झिंगेदाउ’मा आधारित भएर निर्माण भएको हो । प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन र मित्र डि गुरुङले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । चलचित्रमा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा छन् ।