एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् । शाहका कानुनी सहयोगीले मंगलवार दिउँसो जिल्ला अदालतको फैसलाविरुद्ध तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गराएका हुन् ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत, तनहुँले शाहलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो । नाबालिगलाई विवाह गर्छु भनी प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको देखिन आएको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अहिले पल दमौलीको कारागारमा रहेका छन् ।
शाहका कानुन व्यवसायी भानुभक्त सुवेदीले तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध तारिखमा रिहाइ गरेर मुद्दा लड्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरिएको जानकारी दिए । नाबालिगले गत फागुन ११ गते तनहुँ र फागुन १५ गते नवलपरासीको प्रहरी कार्यालयमा शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएकी थिइन् ।