काठमाडौँ । टुँडिखेलमा यही चैत २५ देखि ३० सम्म हुन लागेको ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ को लागि आवेदन फर्म खुल्ला गरिएको छ । सर्वाधिक पुरस्कार राशीसहित हुन लागेको प्रतियोगिताको लागि टिम दर्ता फर्म www.rastriyalokdohorimahotsab.com बाट भर्न सकिने छ ।

प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोश्रो हुनेले नगद ३ लाख र तेस्रो हुनेले नगद २ लाख पाउनेछन् भने सान्त्वना पुरस्कार नगद १ लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट गायक तथा गायिकाले नगद २५ हजार र नव-प्रतिभाले नगद २० हजार प्राप्त गर्नेछन् ।
महोत्सवलाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ । टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ ।

आयोजक संस्था डिएआर मुभिजले यसअघि २०७६ सालमा ऐतिहासिक ‘राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’को आयोजना गरेको थियो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ।