‘हेल्लो जिन्दगी’लाई सन्दिपदेखि रविन्द्रसम्मको साथ



शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेल्लो जिन्दगी’को प्रचार-प्रसारमा दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंले साथ नदिएपछि निर्माण टिमले आफ्नै हिसाबबाट चलचित्रको प्रचार गरिरहेको छ । यसैक्रममा, चलचित्रलाई विभिन्न चलचित्रकर्मीहरुले प्रमोसनमा सघाएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा ‘हेल्लो जिन्दगी’लाई साथ दिन विभिन्न कलाकारदेखि निर्माता-निर्देशसम्म उपस्थित भएका थिए ।

कलाकारहरु सन्दिप क्षेत्री र रविन्द्र झा, निर्देशक द्वय शोभित बस्नेत र मिलन चाम्स, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले कोरोना महामारीपछि तंग्रिने प्रयास गरिरहेको चलचित्र क्षेत्रलाई उठाउन सबैले साथ र सहयोग गर्नुपर्ने बताउँदै दर्शकहरुलाई हलमा गएर चलचित्र हेरिदिन आग्रह गरे ।

विभिन्न चलचित्रकर्मीबाट चलचित्रलाई साथ मिलेपछि खुसी देखिएका निर्देशक एभरेष्ट सूर्य बोहोराले अब आफूहरुको साथमा को छैन भन्ने कुराले दुखी हुन छाडेको बताए । अब ‘निर्माता बचाउ अभियान’ सुरु गर्न आवश्यक रहेको बताउँदै उनले भनेका छन्, ‘निर्माता बाँच्यो भने उद्योग बाँच्छ । एउटा चलचित्रबाटै निर्माता हतोत्साहित भए भने चलचित्र कसले बनाउँछ ? त्यसैले निर्मातालाई प्रोत्साहन र सम्मान गर्नुपर्छ ।’

निर्देशक बोहोराको कथा लेखन रहेको चलचित्रमा विक्रम डि जोशी, दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको यस चलचित्रलाई निर्माण टिमले वास्तविक घटनाबाट प्रभावित भनेको छ ।

नायक समेत रहेका विक्रम डि जोशी चलचित्रको निर्मातामा छन् भने हिराल जोशीले निर्माणमा साथ दिएकी छन् । त्यस्तै, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । चलचित्रको कथा लेखनमा निर्देशक बोहरालाई विक्रमले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu