काठमाडौंमा सुरु भयो ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’



नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को पाँचौं संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । चैत २१ गतेसम्म चल्ने महोत्सवको बिहीवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मेयर शाक्यले कोरोनाले सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन यो महोत्सवले भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै, चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले अन्तर्राष्ट्रिय बजारमा जाने खालका मौलिक र उत्कृष्ट कथावस्तुमा बनेका चलचित्रलाई सघाउन सरकार तयार रहेको बताए । युरोपेली युनियनकी राजदूत डेप्रेजले पनि चलचित्रमार्फत वातावरण, संरक्षण र मानवअधिकार संरक्षणमा सघाउन युरोपेली युनियन तयार रहेको बताइन् । उनले नेपालमा चलचित्र संस्कृतिको विकास भइरहेकोमा खुसी व्यक्त गरेकी छन् ।

डकुमेन्ट्री ‘गोरु पर्व’ प्रिमियर गर्दै सुरु भएको महोत्सवमा ३८ देशका ८९ चलचित्र स्क्रिनिङ गरिने आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले जानकारी दिए । विश्वसामु नेपाली चलचित्रको प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमा सघाउनु महोत्सवको उद्देश्य रहेको उनले बताए । उक्त फेस्टिभलमा विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु पनि हुनेछन् ।

महोत्सवमा स्क्रिनिङ हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर चलचित्र, सर्ट चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुबीच ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । शुक्रवारबाट पर्यटन बोर्ड प्रेक्षालयमा हुने फेस्टिभलमा भौतिक र अनलाइन दुवै माध्यमबाट चलचित्रहरु प्रदर्शन हुनेछन् ।

अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत ‘गौतम बुद्ध बेष्ट न्यारेटिभ फिचर चलचित्र (१५०० अमेरिकी डलर र ट्रफी), ‘माउन्ट एभरेष्ट बेष्ट डकुमेन्ट्री चलचित्र (१००० अमेरिकी डलर र ट्रफी)’, ‘बागमती बेष्ट लाईभ एक्शन सर्ट चलचित्र (५०० अमेरिकी डलर र ट्रफी)’ र ‘मन्जुश्री बेष्ट एनिमेटेड सर्ट चलचित्र (५०० अमेरिकी डलर र ट्रफी) रहेका छन् ।

राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत ‘बेष्ट फिचर चलचित्र (रु. १,००,००० र ट्रफी), ‘बेष्ट सर्ट चलचित्र (रु. ५०,००० र ट्रफी)’, ‘बेष्ट डकुमेन्ट्री (रु. ५०,००० र ट्रफी), ‘बेष्ट सर्ट चलचित्र डिरेक्शन (ट्रफी)’, ‘बेष्ट फिचर चलचित्र सिनेमाटोग्राफी (ट्रफी)’, ‘बेष्ट फिचर चलचित्र स्क्रिनराईटर (ट्रफी)’, ‘बेष्ट फिचर चलचित्र मेल/फिमेल एक्टर (ट्रफी)’ तथा ‘IFFS Don Quixote बेष्ट लाई एक्शन फिचर चलचित्र अवार्ड (सर्टिफिकेट) हरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu