स्वस्तिमाले छाडेपछि नाटक ‘पल्पसा क्याफे’मा सृष्टिको प्रवेश



थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको छ । अहिले नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ ।

सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सह-निर्देशनमा हुन लागेको उक्त नाटकको प्रदर्शन समय ढिला भएसँगै नाटक खेल्ने कलाकारहरूमा पनि फेरबदल भएको छ । पहिला पल्पसाको भूमिकामा स्वस्तिमा खड्काले खेल्ने सार्वजनिक भएपनि समयको कारण उनी उपलब्ध हुन नसकेपछि उनको स्थानमा सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निभाउने भएकी छन् ।

नाटकमा दृश्यको भूमिका नाटक निर्देशक विमल सुवेदी आफैँले अभिनय गर्ने भएका छन् । अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदै छन् । नाटक पटक पटक सरेकाले नयाँ नयाँ कलाकारहरूलाई जुटाउन समस्या भएको कास्टिक डिरेक्टर तथा सह-निर्देशक दिलिप रानाभाटले जानकारी दिए।

‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो । यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनुदित छ । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धी कमाएको थियो । सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।

अभिनेत्री सृष्टिले यसभन्दा पहिला पनि थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरिसकेकी छन् भने ‘सान्दाजुको महाभारत’ ‘यार्मा’ ‘ह्याम्लेट’ ‘मालिनी’ जस्ता फरक डिजाइनका नाटक निर्देशनमार्फत आफूलाई चिनाएका विमल सुवेदी लगभग १ दशकपछि पुनः अभिनयमा फर्किँदै छन् । भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा डिजाइन र डिरेक्सन अध्ययन गर्नुभन्दा पहिला विमल अभिनय र मोडलिङमा सक्रिय थिए ।

नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu