बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’को नयाँ गीत सार्वजनिक भएको छ । शनिवार यूट्युबमा सार्वजनिक भएको ‘तिमी र म’ बोलको गीतमा उदयराज पौडेलको स्वर रहेको छ भने प्रतिक पौडेलको शब्द तथा संगीत छ । रामजी लाछिमानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य नायक अनमोल केसी र नायिका सुहाना थापा रोमान्टिक अवतारमा देखिएका छन् ।

सञ्जय लामाको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको गीतले प्रेमभाव बोल्छ । गीतको भिडियोमा अनमोल र सुहानाको केमेस्ट्री मिलेको देखिन्छ । चलचित्रको यसअघि शिर्ष गीत र ‘सुन्तला’ बोलको गीत सार्वजनिक भइसकेको छ, जसलाई दर्शकहरुले निकै रुचाएका छन् । चलचित्रको ट्रेलरलाई पनि दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
झरना थापा निर्देशित चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन् । पटकथा र संवादमा उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।