मिस नेवाः नेपालको अन्तिम प्रतिस्पर्धा वैशाख १८ मा हुने



नेप्लीज फेशन होमको आयोजनामा हुँदै आएको मिस नेवाः नेपालको अन्तिम प्रतिस्पर्धा आगामी वैशाख १८ गते आईतवार राजधानीमा हुने भएको छ । १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ कमदादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । नेवार समुदायका सुन्दरीहरुबीचको यो प्रतिस्पर्धामा विजेता बज्राचार्य, शिला प्रजापति, सलिना महर्जन, लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, विशेषता मानन्धर, नेहा माली, कृतिका दुवाल, एभ्रील महर्जन, सिर्जुला महर्जन, आस्था श्रेष्ठ, स्वेक्षा महर्जन, अतृषा महर्जन, सिर्जला महर्जन, सविना बज्राचार्य, दीया महर्जन र रेविका महर्जन गरी १९ नेवार सुन्दरीहरुबीच अन्तिम स्पर्धा हुनेछ ।

मिस नेवाः नेपालको विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराएकी छन् । मिस नेवाः नेपाल नेवारी कला, संस्कृति र संस्कारको प्रवद्र्धन तथा विकासका १५ वर्षदेखि हुँदै आएको छ। नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि डेढ दशकदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष मानन्धरले जानकारी गराइन् ।

‘आत्मविश्वास र व्यक्तित्व विकास त जसले पनि सिकाउँछ । हामी चाहिँ नेवारी संस्कृति र संस्कारअनुसार पूजा कसरी गर्नेदेखि भोज कसरी बनाउने, नेवारी लिपिदेखि भाषा र पहिरनसम्म गरी नेवार कला, संस्कृति, भाषा र संस्कारसम्बन्धी सबै कुरा सिकाउँछौँ। त्यसैले, मिस नेवाः नेपालको फाइनल कम्पिटिसन शोका हिसाबले एक दिन मात्र जस्तो देखिए पनि प्रतियोगिताअन्र्तगत कम्तिमा २ महिनाको कार्यक्रम हुन्छ,’ मानन्धरले भनिन् ।

यसै क्रममा शनिवार अन्तिम स्पर्धामा सामेल नेवार सुन्दरीहरुले वसन्तपुरस्थित कुमारी मन्दिरमा लाख बत्ती बालेर विश्व शान्ति तथा देशमा शान्ति र अमन चयनको कामना गरेका छन् । मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले यो प्रतियोगिता सांस्कृतिक सौन्दर्य प्रतियोगिता भएको र यसबाट नेवारी संस्कृति, संस्कारदेखि जात्रा, पर्व, लवाइखुवाइका बारेमा नयाँ पिढीलाई ज्ञान प्रदान गरिने उत्कृष्ट थलोका रूपमा पाएको अनुभव सुनाइन् ।

आयोजक हेमा मानन्धरका अनुसार मिस नेवाः नेपालको फस्ट र सेकेन्ड रनर्सअप विजेताले क्रमशः ५० र २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। अन्तिम स्पर्धाबाट मिस नेवाः नेपाल, फस्ट रनर्सअप र सेकेन्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, बेस्ट नेपाल भाषा, सोसल वेलफेयर एम्बेस्डर चिफ, बेस्ट ड्रेस, मिस फोटोजेनिक, बेस्ट स्माइल, बेस्ट हेयर, मिस पब्लिक च्वाइस, मिस डिसिप्लेन, मिस फ्रेण्डसिप, मिस पर्सनालिटी, मिस चार्मिङ र बेस्ट स्किन गरी कुल १६ विधामा विजेता चयन गरिनेछ ।

प्रतियोगिताका सहभागीहरूलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । यसका लागि प्रतियोगीहरूलाई विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण प्रदान गरिनेछ भने विभिन्न स्थल घुमाएर व्यावहारिक ज्ञान पनि दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu