चलचित्र ‘ग्रहण’ बन्ने, मुख्य भूमिकामा विनय, नम्रता र सारुक



राजिव गुरुङको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘ग्रहण’को घोषणा गरिएको छ । आइतवार सिक्किमको गान्तोकमा सिक्किमका सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख आतिथ्यतामा चलचित्रको घोषणा गरिएको हो । कार्यक्रममा चलचित्रको कलाकार पनि सार्वजनिक गरियो । चलचित्रमा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ र सारुक ताम्राकारको मुख्य भूमिका रहने भएको छ ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने चलचित्र भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत खिचिनेछ । हरी हुमागाईंको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहने चलचित्रको स्क्रिप्ट र स्क्रिनप्ले विशाल सापकोटाले तयार पारेका हुन् । चलचित्रको कथा निर्देशक गुरुङको हो । चलचित्रका लागि अन्य कलाकारहरुको केही दिनमा टुंगो लाग्ने बताइएको छ ।

सिक्किममा छायांकन गरिने चलचित्रले दुवै देशको पर्यटन प्रवद्र्धनमा सघाउने मन्त्री शर्माले विश्वास व्यक्त गरे । उनले भने, ‘हामी हाम्रो कलाकारलाई संसारमा चिनाउन लागिरहेका छौँ । त्यहिँ अनुरुप फिल्म बोर्ड, चलचित्र नीति बनिसकेको छ । जसअनुरुप सिक्किममा छायांकन गर्ने चलचित्रले भारु एक करोड पाउनेछ ।’ चलचित्र सुटिङका लागि सिक्किम सधैं खुल्ला रहेको उनले बताए ।

चलचित्रको घोषणा सभामा अभिनेता विनय श्रेष्ठले सिक्किम आफूलाई दोस्रो घर जस्तो लाग्ने गरेको र यसपटक सिक्किमको मनोरम दृश्यमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए । चलचित्रको कार्यकारी निर्माता समेत रहेका विनयले चलचित्रमा सिक्किमका कलाकारहरुसँगै प्राविधिक समेतको सहभागिता रहने जानकारी दिए । उनले १४ वर्षपछि नम्रता श्रेष्ठसँग काम गर्न लागेका हुन् ।

त्यस्तै, अभिनेत्री नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो चलचित्र ‘सोल सिस्टर्स’को छायांकन सिक्किममा गरेको स्मरण गर्दै ‘ग्रहण’मा आफ्नो क्यारेक्टर एरियल योगा इन्स्टक्टरको रहेको जानकारी दिइन् । सारुकले भने चलचित्रमा आफ्नो भूमिका भिलेनको रहेको बताए । अहिले सारुक र नम्रता प्रेम सम्बन्धमा रहेको चर्चा छ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

चलचित्रको घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पूजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके, ‘त्यान्द्रो’ निर्देशक साम्तेन भुटिया लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu