‘ए मेरो हजुर ४’मा अनमोलको अभिनय उत्कृष्ट छ : निर्माता थापा



विगत २७ वर्षदेखि नेपाली चलचित्र निर्माणमा सक्रिय रहेका निर्माता सुनिल कुमार थापाले निर्माण गरेको नयाँ चलचित्र ‘ए मेरो हजुर ४’ बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले यो चलचित्र आफूले यसअघि बनाएका चलचित्रभन्दा उत्कृष्ट रहेको दाबी गरेका छन् । साथै, उनले अभिनेता अनमोल केसीले यसअघि सातवटा चलचित्रमा गरेको अभिनयभन्दा यसमा अब्बल रहेको पनि बताए ।

आइतवार एक कार्यक्रममा उनले भने, ‘म चलचित्र क्षेत्रमा आएको २७ वर्ष भयो । यो अवधिमा मैले दर्शकलाई राम्रै चलचित्र दिएको छु जस्तो लाग्छ । तर, मैले आजसम्म बनाएका चलचित्रमध्ये ‘ए मेरो हजुर ४’ मेकिङको हिसाबले उत्कृष्ट छ । यसको कथावस्तु पनि अत्यन्त राम्रो छ । र, म घमण्डका साथ भन्छु कि अनमोल केसीले यसअघि सातवटा चलचित्रमा गरेको अभिनयभन्दा यसमा अब्बल छ ।’

बैशाख १ गते ‘ए मेरो हजुर ४’को भिडन्त साउथ चलचित्र ‘केजीएफ २’सँग हुँदैछ । जसले गर्दा कुन चलचित्र कसको मिचाईमा पर्ने हो भन्ने चासो धेरैमा देखिएको छ । तर, निर्माता थापा जित नेपाली चलचित्रकै हुनेमा पूर्ण विश्वस्त छन् । नेपालमा ‘ए मेरो हजुर ४’ र ‘केजीएफ २’को कलेक्सन बराबर हुने दाबी समेत उनको छ ।

उनी भन्छन्, ‘चलचित्रलाई कति शोज दिने त्यो हलवालाको हातमा छ । शोज बाँडफाँडको विषयमा अहिले छलफल भइरहेको छ । हल व्यवसायीहरु नेपाली भएकाले हाम्रो चलचित्रले उल्लेख्य शो पाउनेमा विश्वस्त छौं । हलवालालाई ‘ए मेरो हजुर ४’ र ‘केजीएफ २’ चलाउँदा कलेक्सन बराबर नै हुन्छ ।’

बैशाख १ नेपालीहरुको नयाँ वर्ष भएकाले यो मितिमा नेपाली चलचित्र नै चलाउन आफूले जोखिम उठाएको बताउँदै उनले नेपाली नयाँ वर्ष विदेशी चलचित्रलाई सुम्पिन आफू तयार नभएको बताए । चलचित्रको लगानी उठ्ने भएरै आफूले बैशाख १ गतेलाई चलचित्रको रिलिज तोकेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu