कोरोना महामारीभन्दा अगाडि निर्माण भएको चलचित्र ‘मैले आई लभ यू भन्नै सकिनँ’ यही चैत २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर र गीत पनि सार्वजनिक गर्यो । ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ भने ‘मुस्ताङको बजार’ बोलको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ ।

गीतमा दीपक रमनको शब्द तथा संगीत छ । आकर्षक सेट खडा गरेर खिचिएको यस गीतको भिडियोमा कलाकारहरु सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, बुद्धि तामाङ, अञ्जली अधिकारी, सुनिल भुषाल, जयनन्द लामा, सुरज कार्की, सुभाष नेपाली लगायतले नृत्य गरेका छन् । गाउँमा लाग्ने मेलाको सेटअपमा खिचिएको गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।
शंकर कार्की र बाबु जिम्बाको संयुक्त निर्देशनमा तयार भएको चलचित्रको असिस्टेन्ट डाइरेक्टरमा प्रणव सुवेदी छन् । चलचित्रमा शंकर कार्कीको कथा, वीर मास्टरको द्वन्द्व, आशिया जिम्बा र सुशील डांगीको छायांकन र आशिष जिम्बाको सम्पादन रहेको छ । शंकर कार्की कार्यकारी निर्माता र प्रेम श्रेष्ठ निर्माता रहेको चलचित्रको सह-निर्मातामा मसार नेपाली र भक्त बहादुर नेपाली छन् ।