‘निफ’मा ‘महानगर’ उत्कृष्ट चलचित्र



‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को पाँचौं संस्करणको समापन भएको छ । पाँच दिनसम्म चलेको महोत्सवको सोमवार समापन कार्यक्रममा विभिन्न १४ विधामा उत्कृष्ट भएका चलचित्रहरुलाई अवार्ड वितरण गरियो । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर चलचित्रमा बंगलादेशीको ‘नो ग्राउण्ड बेनेअथ द फिट’ र राष्ट्रिय प्रतिस्पर्धातर्फ ‘महानगर’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।

बंगलादेशी चलचित्रले उपाधिसँगै १५ सय अमेरिकी डलर पनि प्राप्त गरेको छ भने ‘महानगर’ले एक लाख नगद पाएको छ । महोत्सवमा उत्कृष्ट ‘स्क्रिनप्ले’ र निर्देशकको अवार्ड पनि ‘महानगर’बाट निर्देशक मोहन राईले जित्न सफल भएका छन् । त्यस्तै, चलचित्र ‘चिसो एस्ट्रे’बाट उत्कृष्ट नायकको अवार्ड दिव्य देवले पाएका छन् । उनले आफ्नो करिअरमा पहिलो अवार्ड जितेका हुन् ।

‘निफ’मा चलचित्र ‘महानगर’बाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् भने उत्कृष्ट सिनेमेट्रोग्राफीको अवार्ड ‘चिसो एस्ट्रे’बाट उज्ज्वल बस्ताकोटीले आफ्नो पोल्टामा पारेका छन् । उत्कृष्ट राष्ट्रिय वृत्तचित्रतर्फको अवार्ड विशाल रोका मगर निर्देशित ‘गोर्खा गल्स’ले जित्दा उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रतर्फ अवार्ड भने ज्याक हेक्सटल निर्देशित ‘आउट अफथिन एअर’ले पाएको छ ।

त्यस्तै, उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट चलचित्रतर्फको अवार्ड सुजानामिर घानी निर्देशित ‘अल–सिट’ले हात पारेको छ भने उत्कृष्ट अन्तर्राष्ट्रिय एनिमेटेड चलचित्रतर्फको अवार्ड साइमन फाइलो निर्देशित ‘हर्ट अफ गोल्ड’ले जितेको छ । उत्कृष्ट राष्ट्रिय सर्ट चलचित्र निर्देशनतर्फको अवार्ड ‘अशेष अफअस’ले जित्न सफल हुँदा संगीता श्रेष्ठ निर्देशित ‘आइस क्रिम’ले उत्कृष्ट राष्ट्रिय सर्ट चलचित्रतर्फको अवार्ड जित्यो ।

राष्ट्रिय सभा र नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजना भएको महोत्सवमा ३८ देशका ८९ फिल्म प्रदर्शन गर्नुका साथै विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु पनि भएका थिए । विश्वसामु नेपाली चलचित्रको प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्य बोकेर महोत्सव गरिएको आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu