भुवन केसी काठमाडौंको मेयर पदमा उठ्ने



आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा अभिनेता भुवन केसीले उम्मेदवारी दिने भएका छन् । उनले स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीबाट मेयर पदमा उम्मेदवारी दिन लागेका हुन् । मंगलवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले काठमाडौंको मेयरमा अभिनेता केसीलाई उठाउने निर्णय गरेको अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कला संस्कृतिका मूर्धन्य व्यक्तित्व, संसारका सबै देशका लागि सद्भावना राजदूत सरह रहनु भएका काठमाडौंका पुस्तैनी बासिन्दा, काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावनाको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका नायक भुवन केसीज्यूको उम्मेदवारीमा खुला किताब चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ ।’

अभिनेता केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको विभागीय अध्यक्षको समेत जिम्मेवारी दिइएको छ । त्यस्तै, पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा रेश्मा लामालाई उठाउने निर्णय गरेको छ । मेयर र उपमेयर पदका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७० सालको निर्वाचनमा एमालेले भुवन केसीलाई काठमाडौं क्षेत्र नम्बर १ बाट उठाउने निर्णय गरेको थियो । तर, उनलाई टिकट दिएको भन्दै पार्टीभित्र विरोध भएपछि २४ घन्टामै उनको टिकट खोसियो । यसपछि एमालेसँग उनी टाढिएका थिए । केही दिनयता उनी राप्रपामा प्रवेश गर्न लागेको चर्चा चलेको भएपनि अब उनले स्वागत नेपालको पार्टीबाट राजनीतिक यात्रा सुरु गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu