एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । बुधवार न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्म तनुहँमै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
अदालतको आदेश लगत्तै पल शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको हो । वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ । यसअघि चैत १० गते तनहुँ जिल्ला अदालतले पनि शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
अभिनेता शाहले एक वर्षअघि गैंडाकोटमा छायांकनको क्रममा नाबालिगलाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै गत फागुनमा इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो । जाहेरीका आधारमा प्रहरीले शाहलाई चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान थालेको हो । शाहलाई तनहुँ प्रहरी कार्यालयमा पनि उनै नाबालिगले एक वर्षअघि बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।