कोरोना महामारीले थलिएको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन नेपाल चलचित्र संघले चलचित्रको सेयर बाँडफाँड सम्बन्धि नयाँ नियम लागू गरेको थियो । संघले निर्मातालाई राहत दिने उद्देश्यले २०७९ सालको बैशाख १ गतेसम्मका लागि प्रदर्शनको पहिलो हप्ता ५५ प्रतिशत र दोस्रो हप्ता ५० प्रतिशत सेयर दिने निर्णय गरेको थियो ।
त्यसअघि निर्माताले पहिलो हप्ता ५० प्रतिशत र दोस्रो हप्ता ४५ प्रतिशत सेयर पाउँदै आएका थिए । अब कोरोनाकालका लागि संघले लागू गरेको नयाँ नियमको अवधि बैशाख १ गते सकिँदैछ । यसैक्रममा, दुई दिन अगाडि संघका महासचिव अशोक शर्माले बैशाखदेखि लागू हुने गरी चलचित्रको सेयर बाँडफाँड सम्बन्धि संघले नयाँ निर्णय गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका थिए ।

महासचिव शर्माले नेपाली निर्मातालाई फाइदा मिल्ने गरी बैशाखदेखि पहिलो र दोस्रो हप्ता निर्माता र वितरकलाई ५०/५० प्रतिशत शेयर बाँडफाँड गर्ने नयाँ निर्णय संघले गरेको बताएका थिए । तर, बुधवार संघले अशोक शर्माको अभिव्यक्तिलाई खण्डन गर्दै सञ्चारमाध्यममा आएको फिल्म प्रदर्शनको शेयर बाँडफाँड सम्बन्धि समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र संघको चलचित्र प्रदर्शन व्यवसायिक समितिको मौखिक सहमतिमा २०७९ साल बैशाख १ गतेसम्म प्रदर्शन हुने चलचित्रहरुको शेयर बाँडफाँड सम्बन्धमा निर्णय भएको र त्यसपछि शेयर बाँडफाँड सम्बन्धमा चलचित्र संघले हालसम्म कुनै पनि निर्णय नगरेको जानकारी गराउँदछु ।’