केही दिन अगाडि उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा उन्नत पार्टीबाट अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन लागेको जानकारी गराएका थिए । तर, शनिवार फेसबुकका स्टाटस लेख्दै भुवनले विभिन्न कारणले काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन असमर्थ रहेको बताएका छन् ।
आफूले अहिलेसम्म कुन पार्टीबाट राजनीतिक यात्रा सुरु गर्ने भन्ने पनि निधो नगरिसकेको जानकारी दिँदै उनले शनिवार फेसबुकमा लेखेका छन्, ‘मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । तर, प्राविधिक कारण तथा कार्यव्यस्तताका कारण महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु ।’

आफूविरुद्ध अनावश्यक र अनर्गल रुपमा उठाइएको टिप्पणीहरूको वस्तुपरक रुपमा धेरै सकारात्मक र केही नकारात्मक टिप्पणी गर्नेहरूप्रति आभार व्यक्त गर्दै उनले स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल गरेको, धेरैले आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको र उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको भएपनि कुनै ठोस निर्णय नभएको स्पष्ट पारेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘मैले हालसम्मको जीवनमा राजनीतिलाई नजिकबाट नियालेर निकालेको निष्कर्ष अनुसार नेपालमा राइट टु रिजेक्ट र राइट टु रिकलसहितको उन्नत लोकतन्त्रविना जनताका अधिकारहरु स्थापित हुन र सुशासन कायम हुन सक्दैन । यो अभियानको नेतृत्व गर्ने उन्नत लोकतन्त्र पार्टी र अध्यक्ष स्वागत नेपालप्रति मेरो नैतिक समर्थन रहनेछ । तर, अबको दिनमा राजनीति कुन पार्टीबाट गर्ने भन्ने मैले निधो गरिसकेको छैन र गरेको दिन जानकारी गराउनेछु ।’