मल्टीप्लेक्समा ‘ए मेरो हजुर ४’ र ‘केजीएफ २’लाई कति शो ?



आउँदो बैशाख १ गतेबाट नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ र साउथ चलचित्र ‘केजीएफ २’ प्रदर्शनमा आउने तयारीमा छ । दुवै चलचित्र प्रतिक्षीत भएकाले शनिवारबाटै देशभरका मल्टीप्लेक्सहरुले शोज बाँडफाँड गर्दै अग्रिम बुकिङ खुल्ला गरिसकेका छन् । तर, अधिकांश मल्टीप्लेक्सहरुले शो बाँडफाँडमा ‘ए मेरो हजुर ४’लाई सौतेनी व्यवहार गरेका छन् । ‘केजीएफ २’ भने शो नै शोले पुरिएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरका च्यानलमा कूल ६९ शो ‘केजीएफ २’लाई बाँडेको छ भने ‘ए मेरो हजुर ४’लाई जम्मा २५ शो उपलब्ध गराएको छ । अग्रिम बुकिङमा ‘केजीएफ २’ आक्रामक देखिएको छ । क्यूएफएक्सले बाँडेको प्रायः शो रिलिज अगावै सोल्डआउट हुने अवस्थामा पुगेका छन् । ‘ए मेरो हजुर ४’को बुकिङ भने औसत देखिएको छ ।

त्यस्तै, राजधानीका बिग मुभिज, विएसआर मुभिज्, एफक्यूब, आईएनआई सिनेमाज्, वान सिनेमाज्, रञ्जना सिनेप्लेस, कीर्तिपुर सिनेप्लेस, क्यूज सिनेमाज्, सिटिसी सिनेमाज् लगायतले पनि ‘केजीएफ २’भन्दा ‘ए मेरो हजुर ४’लाई आधा शो उपलब्ध गराएका छन् । मल्टीप्लेक्समा एडभान्स बुकिङको नतिजा हेर्ने हो भने ‘केजीएफ २’ले नेपालमा ‘आरआरआर’भन्दा ठूलो ओपनिङ गर्ने देखिन्छ ।

‘केजीएफ २’का कारण ‘ए मेरो हजुर ४’को इनिसियल व्यापारमा ठूलो धक्का पुग्ने देखिएको छ । तथापि, माउथ पब्लिसिटी बलियो भएको खण्डमा चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बन्न सक्नेछ । मल्टीप्लेक्समा सामान्य शोमा चित्त बुझाउनु परेको ‘ए मेरो हजुर ४’ सिंगल थिएटरमा भने निर्विकल्प छ । झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu