‘सम्झना बिर्सना’ गीतमा पूजासँग रोमान्टिक आकाश



निमेष प्रधान निर्देशित चलचित्र ‘सम्झना बिर्सना’को पहिलो गीत सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘परेली’मा बोलको गीतमा अञ्जु पन्त र निमेष प्रधानको युगल स्वर छ । गायक प्रधानकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा चलचित्रका अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

गीत सार्वजनिक कार्यक्रममा अभिनेता श्रेष्ठले लामो समयपछि आफ्नो चलचित्र हलमा हेर्न उत्साहित रहेको बताए । सम्पूर्ण टिमले मेहनत गरेकाले चलचित्र राम्रो बनेको उनको भनाई छ । त्यस्तै, पूजाले आफू निर्मात्री पनि भएकाले बाहिरी ब्यानरको चलचित्रमा काम गरिरहँदा निर्माता/निर्देशकलाई सुझाव दिने गरेको बताइन् । ‘सम्झना बिर्सना’ले दर्शकलाई सम्झना छोड्ने उनको विश्वास छ ।

पूजाले आकाशसँग काम गर्न आफूलाई कम्फर्टेबल महशुस हुने पनि बताएकी छन् । उनले भनेकी छन्, ‘को-एक्टरले गर्नुपर्ने साथ-सहयोग आकाशले सधैं गर्छ । मलाई काम गर्न सजिलो लाग्ने पल र आकाशसँग नै हो । उनीहरुसँग काम गर्दा पोजेटिभ भाइब्स आउँछ । यो चलचित्रले आकाशलाई थप उचाइँ दिलाउनेमा विश्वस्त छु ।’ ‘सम्झना बिर्सना’ पूजा र आकाशको चौंथो सहकार्य हो ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । जेठ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको यो चलचित्र आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको चलचित्रमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् । निर्देशक प्रधानले आफूले युवा पुस्तालाई लक्षित गरेर चलचित्र बनाएको जानकारी दिए । यो उनको डेब्यू निर्देशित फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu