आकाशसँग काम गर्नका लागि धेरै प्रस्ताव आएको छ : पूजा शर्मा



चलचित्र ‘रामकहानी’मा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले पहिलो पटक सहकार्य गरेका थिए । यो चलचित्रमा उनीहरुको केमेस्ट्रीलाई दर्शकहरुले निकै रुचाए । दर्शकको चाहना बमोजिम यो जोडीले चलचित्रसँगै म्यूजिक भिडियोमा निरन्तर काम गर्दै आएको छ । तर, गत वर्ष आकाशले पूजाको मन दुखाउने एउटा काम गरेपछि उनीहरुबीच सुमधुर सम्बन्ध नभएको बताइन्छ ।

उनीहरु अभिनीत नयाँ चलचित्र ‘सम्झना बिर्सना’ जेठ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । आइतवार यसै चलचित्रको गीत सार्वजनिक कार्यक्रममा पत्रकारले पूजालाई सोधे, ‘के भोलीका दिनमा आकाशसँग चलचित्रमा काम गरिन्छ ?’ जवाफमा पूजाले भनिन्, ‘गरिन्छ नी । ऊ पनि कलाकार म पनि कलाकार । ऊ र मैले गर्नै नहुने भन्ने त लेखेको छैन होला क्यारे ।’ आकाशसँग चलचित्रमा काम गर्नका लागि धेरै प्रस्ताव आएको पनि पूजाले बताइन् ।

उनले अगाडि भनिन्, ‘मलाई अफर आएका धेरै प्रोजेक्टमा निर्माता/निर्देशकहरुले आकाश श्रेष्ठलाई मुख्य नायकमा लिने चाहना देखाउनु भएको हुन्छ । तर, म मेरो अपोजिटमा को हुन्छ भन्दा पनि स्क्रिप्ट र चरित्र कस्तो छ भन्ने कुरालाई महत्त्व दिन्छु । विशेषगरी बाहिरबाट आकाश र मलाई लिएर चलचित्रको अफर आइरहेको छ । आकाशसँग चलचित्रमा काम गर्नका लागि मलाई आपत्ति छैन ।’

पूजाले आफूले अभिनय गरेको चलचित्रलाई होम प्रोडक्सन र बाहिरको भनेर छुट्याउने नगरेको पनि बताइन् । ‘मेरो कारण चलचित्र असफल भयो भन्ने सुन्न नपरोस् भन्ने लाग्छ । त्यसैले दर्शकसम्म चलचित्र पुर्‍याउन मबाट कुनै कसर बाँकी रहँदैन । दर्शकले चलचित्र मन पराउने वा मन नपराउने त्यो दोस्रो कुरा हो । म के सोच्छु भने म मात्र सक्सेस भएर हुँदैन, निर्माता पनि सक्सेस हुनुपर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu