काठमाडौं। नेपाली चलचित्र ‘कैदीको पत्र’ को फर्स्ट लुक पोस्टर रिलीज भएका छन् । सनमकुमार बैराग निर्देशित यो चलचित्रका तीनवटा फरक–फरक डिजाइनका पोस्टरहरु नयाँ बर्षको अवसर पारी सार्वजनिक भएका हुन् ।
रिलीज मिति तय भईनसकेको यो चलचित्र साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित छ । यसमा पटकथा र संवाद निर्देशक बैरागकै रहेको छ । यो चलचित्र स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोलगायतका स्थानमा खिचिएको छ ।

चलचित्रमा बेलायती कलाकार माडिशन लाजारोश, क्यारी डुड्स, लरेन्स वेस्टवरी, फस्तासका साथमा नेपाली कलाकारहरु सुवर्ण थापा, सलिना थापामगर, कुनाल बिश्व, पृथ्वीराज खत्री, चरण प्रधान, मनिष श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापा, बिभिया श्रेष्ठ, बिजया श्रेष्ठ, कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीले अभिनय गरेका छन् । बेलायतका लागि तत्कालीन नेपाली राजदूत दुवसु क्षेत्री समेत राजदुतकै भूमिकामा छन् ।
पहिले नै तयार भएता पनि कोरोना महामारीका कारण चलचित्र प्रदर्शनमा आउन सकेको थिएन । पैँतिस प्रतिशत अंग्रेजी भाषा रहेको यो चलचित्र माया, प्रेम, पारिवारिक सम्बन्ध लगायतका बिषयमा केन्द्रित रहेको निर्देशक बैरागले बताए । रामेश्वर कार्कीले छायांकन गरेको यो चलचित्रको निर्माता हिराल जोशी, नानी हेरा, कैलाश बिश्वकर्मा र दील घले हुन् ।
निर्देशक बैरागकै गीत, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वनद्व, बिनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको यो चलचित्र भिजन संसारको प्रस्तुतिमा बिरञ्जना इन्टरटेन्मेन्ट, महारानी इन्टरटेन्मेन्ट युके र मुभी मेकर्स क्लवले निर्माण गरेको हो । चलचित्रको वितरण आरआर फिल्मस्ले गर्दैछ ।