सिनेम्याक्स दरबार, यस्तो अवसर नपाईयोस् बारबार



काठमाडौं। यतिबेला सामाजिक सन्जालतिर काठमाडौंको न्यूरोडमा रहेको ‘रन्जना सिनेमा हल’ भाईरल छ । एउटा चलचित्र हेर्दा हेर्दै अर्कै चलचित्र चलेपछि खिचिएको फुटेज अहिले छ्यापछ्याप्ती छ । भारतको कर्नाटक राज्यको सानो ‘कन्नड चलचित्र उद्योग’को तर हाल बलीउडलाई नै हम्मे-हम्मे पारिरहेको चलचित्र ‘केजीएफ – च्याप्टर २’ हेरिरहेको समयमा उहि दिन नै रिलीज भएको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ चल्न थालेपछि हो-हल्ला मच्चिएको थियो । केहि समयको हो-हल्लापछि मात्र प्रोजेक्टर टेक्निसियनले अर्कै चलचित्र चलिरहेको भेउ पाएका थिए । हलनिकट श्रोतले बताएअनुसार झुक्किएर ‘ए मेरो हजुर ४’को स्वीच दबेपछि उक्त घटना भएको थियो । केहिबेरमा पुनः ‘केजीएफ’ चलेको थियो ।

यो घटना केहि समय पहिले मात्र आधुनिक रुपमा पुनःनिर्माण भई सन्चालनमा आएको रन्जना हलको थियो ।

तर, शिर्षक प्रसंगको कुरा भने अत्याधुनिक भनि एक टिकटको नै रु. १२०० /- लिने काठमाडौंको दरबारमार्गस्थित दरबार मलमा खुलेको ‘दरबार सिनेम्याक्स’को हो । प्रिमियम भनिएको यो हलमा स्वीचकन्ट्रोल हुने लक्जरी सोफामा बसेर थोरै संख्याका दर्शकले हेर्न सकिने गरी बनाईएको छ । नयाँ बर्षमा उद्घाटन गरि चलचित्र चलाउन शुरु गरिएको यो हलले ‘पहिलो गासमै ढुंगा’ चपाउन परेको छ । हल शुरुवातको दोश्रो दिन बिहानको पहिलो शो मा नै तीनवटा घटना भए ।

बिहिवार देखि नै हल सन्चालनमा आएपछि दर्शकले अनलाइनबाट नै टिकट किनेर हलमा पुगेका थिए । बिहानी शो भएर हुनसक्छ टिकट दर भने पचास प्रतिशत कम रु. ६०० /- मात्र थियो । एक दर्शकले ६ वटा टिकट अनलाइन पेमेन्ट गेटवे ‘ईसेवा’बाट पैसा तिरेका थिए । अनलाइन टिकट बोकेर शुक्रबार बिहान ७:४५ बजे ‘केजीएफ २’ हेर्न पुग्दा उनको टिकट अरु कसैले लिईसकेका थिए । उनले आफुले पैसा तिरेको अनलाइन रसिद देखाएपछि प्राविधिक समस्या भन्दै पुनः टिकट उपलब्ध गराईएको थियो ।

यो त थियो, एउटा उतिबेलै कुरा मिलेको घटना ।

कफिजन्य खानेकुरा किनेर ‘अडिटरियम १’को लागि काटिएको टिकट लिएर हल छिर्न लाग्दा सबैलाई ‘अडिटरियम २’मा पठाईयो । प्राविधिक त्रुटी आएको भन्दै अर्को हलमा त पठाईयो तर उक्त हलमा टिकट बेचिएको हलमा जति सिट क्षमता रहेनछ । हलका कर्मचारीलाई पर्‍यो फसाद । कुन सिटको लागि काटेको टिकट कुन सिटमा पुग्यो पत्तै थिएन । जसोतसो कर्मचारीहरुले दर्शक फकाएर मिलाएर राखे ।

कुरा यत्ति मात्र होईन, फेरी अर्को मूख्य समस्या आईलाग्यो ।

फिल्म शुरु भयो, तर केहि क्षणमा नै स्पिकरबाट आईरहेको बडो नमज्जाको ‘ट्यार्ररर …’ आवाजले गर्नु गर्‍यो । अलिक लाउड चलचित्र भएकोले कुनै कुनै समय आवाज नसुनिएता पनि इन्टरभल सम्म डिस्टर्बमा नै हेर्नुपर्‍यो । त्यो आवाजबाट मुरमुरिएका दर्शकले कर्मचारीलाई तुरुन्तै स्पिकर सच्याउन अनुरोध गरे । अलिक समय प्राविधिकले मर्मतमा समय लिए । चलचित्र फेरी शुरु भयो । शुरु त भयो पुरानो ‘ट्यार्ररर …’ आवाज फेरी आउन थाल्यो । मुश्किलले टिकट पाएर हल पुगेका दर्शकले ‘केजीएफ’को मज्जा लिन सकेनन् । अर्को हलमा गएर फेरी हेर्ने खासखुस गर्दै दर्शक बाहिरिए ।

संयोगवश मैले पनि माथि उल्लेखित सबै घटना देख्ने र भोग्ने अवसर पाएँ । अर्कोपटक या बारबार ‘दरबार सिनेम्याक्स’मा चलचित्र हेर्दा यस्तो अवसर प्राप्त नहोस्, शुभकामना !

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu