चलचित्र ‘प्रेमगन्ज’लाई दर्शकको ठूलो समुहमा पुर्याउन टिजरलाई ‘कपीराइट फ्री’ गर्ने निर्णय गरिएको छ । शनिवार सार्वजनिक हुने टिजरलाई जोकोहीले युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्राममा निर्धक्क राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई नगद पुरस्कार प्रदान गरिने बताए ।
तीन प्लेटफर्ममा तीन विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् । ‘भ्युज ,कमेन्ट र शेयरको आधारमा उत्कृष्ट हुने तीन युट्युब च्यानल, फेसबुक प्रयोगकर्ता र टिकटकरलाई चलचित्रको प्रिमियर सोमा रेड कार्पेटसहित आकर्षक पुरस्कार प्रदान गरिनेछ,’ सेनले जनाए ।

निर्माता अनन्तमान श्रेष्ठका अनुसार, यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गतेसम्म चल्नेछ । निर्माता श्रेष्ठले सामाजिक सञ्जालमा टिजर शेयर गर्दा ‘ह्यासट्याग ‘प्रेमगन्ज’ भदौ ३, ‘प्रेमगन्ज’ हेर्ने दिन’ भनेर चलचित्रको अफिसियल पेजमा मेन्सन गर्नुपर्ने जानकारी दिए ।
निर्देशक परिच्छेद सेनकै लेखन रहेको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का मुख्य भूमिकामा छन् । त्यस्तै, चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतको पनि अभिनय रहेको छ ।
विगत २ दशकदेखि नेपाली चलचित्रमा स्पट ब्वाईंको रुपमा काम गर्दै आएका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लागतमा निर्माण भएको हो । चलचित्र प्रेमकथामा आधारित छ ।