बैशाख १ गतेबाट नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ र साउथ चलचित्र ‘केजीएफ २’ प्रदर्शनरत छन् । दुईमध्ये नेपालमा ‘केजीएफ २’को व्यापार माथि छ । मल्टीप्लेक्सहरुले सर्वाधिक शो दिएका कारण व्यापार बढी हुनु स्वभाविक पनि हो । ‘ए मेरो हजुर ४’ले पनि मल्टीप्लेक्समा उपलब्ध शोमा दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको दुई दिन चलचित्रले सिंगल र मल्टीप्लेक्स दुवैतर्फ हाउसफुल व्यापार गर्यो ।
तर, ‘ए मेरो हजुर ४’ हाउसफुलका साथ प्रदर्शन भइरहँदा पनि मल्टीप्लेक्सहरुले शो बढाउन आवश्यक ठानेका छैनन् । बरु, काठमाडौं र मोफसलका केही हलहरुले चलचित्रको शो कटौती गर्न सुरु गरेका छन् । हाउसफुल व्यापार गरिरहेको चलचित्रको शो बढ्नु पर्नेमा घट्न थालेपछि चलचित्रकर्मीहरुले आवाज उठाउन थालेका छन् ।

नेपाल चलचित्र संघका महासचिव तथा निर्माता अशोक शर्माले ‘ए मेरो हजुर ४’को शो घटाएको भन्दै हल सञ्चालकहरुलाई अब आउन सक्ने आँधीबेहरीको सामना गर्नका लागि तयार हुन चेतावनी दिएका थिए । उनले फेसबुकमा स्टाटस लेख्दै फिल्म हाउसफुल हुँदा हुँदै शुक्रबार केही हलहरुले शो हटाउनुको कारणबारे पनि जवाफ मागेका छन् ।
त्यस्तै, चलचित्रकी निर्देशक झरना थापाले चलचित्रको शो घटेको भन्ने कुराले आफूहरु दुखी भएको बताएकी छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्, ‘हाम्रो चलचित्रलाई बैशाख १ मा हलमा आउन नदिन, प्रदर्शन भएपछि पनि हलमा टिक्न नदिन अनेक प्रकारका षड्यन्त्र जारी छ । कतिपयले हाम्रो चलचित्र को हलमा शो घट्यो,ह ट्यो भन्ने जस्ता भ्रामक कुरा फैलाइरहेको सुन्नमा आएको छ । यसमा हामीलाई दुःख लागेको छ । तर, बिचलित भने भएका छैनौं ।’