साउथ सुपरस्टार यश अभिनीत चलचित्र ‘केजीएफ २’ले हिन्दी भर्सनमा प्रदर्शनको दुई दिनमा सय करोडको व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन नै ५३ करोड ९५ लाखको जबर्जस्त ओपनिङ गरेको चलचित्रले दोस्रो दिन ४६ करोड ७९ लाखको व्यापार गर्दै हिन्दी भर्सनमा १ सय ७४ लाखको कमाई गर्न सफल भएको हो ।

चलचित्रको कमाईलाई ट्रेड एनालिस्ट तरण आदर्शले ‘सुनामी’को संज्ञा दिएका छन् । सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’को हिन्दी भर्सनको लाइफटाइम कलेक्सन ४४ करोड ९ लाख मात्र थियो । ‘केजीएफ २’ले पहिलो दिन नै आफ्नै रेकर्ड ब्रेक गरेको छ । चलचित्रले चार दिनमा १ सय ८४ करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।
त्यस्तै, साउथका ट्रेड एनालिस्ट मनोबाला विजयबालनले ट्विटरमार्फत् चलचित्रले विश्वभर २ दिनमा ३ सय करोडमाथिको व्यापार गरेको जानकारी दिएका छन् । प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित चलचित्रमा यशसँगै सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राज र मालविका अविनाश लगायतको अभिनय छ । यो चलचित्र कन्नड, तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा एकसाथ प्रदर्शन भएको हो ।