नेपाली नयाँ वर्षमा प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ४’को तीन दिने कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । आइतवार निर्माण टिमले अफिसियल फेसबुक पेजमार्फत् सार्वजनिक गरेको पोस्टरमा चलचित्रको तीन दिने कलेक्सन २ करोड ४३ लाख उल्लेख छ । साउथको ठूलो चलचित्र ‘केजीएफ २’को दबादबाबीच पनि चलचित्रको यो कमाईलाई बम्पर मान्न सकिन्छ ।

वितरक गोविन्द शाहीका अनुसार, चलचित्रले पहिलो दिन देशभर ८८ लाख, दोस्रो दिन ६६ लाख र तेस्रो दिन ८९ लाख कमाएको हो । चलचित्रले पहिलो हप्ता ४ करोडको आँकडा छुने अनुमान वितरक शाहीको छ । ‘केजीएफ २’का कारण मल्टीप्लेक्सहरुमा कम शो पाउँदा चलचित्रको कमाई धेरै हदसम्म खुम्चिएको छ । सिंगल थिएटरमा भने ‘ए मेरो हजुर ४’ले एकलौटी हालीमुहाली गरेको छ ।
ठूलो विदेशी चलचित्रका बावजूद पनि चलचित्र हेर्नका लागि हलमा दर्शक ओइरिएपछि निर्देशक झरना थापाले खुशी व्यक्त गरेकी छन् । शनिवार राजधानीका विभिन्न हलहरुमा दर्शकसँग साक्षात्कार गर्ने क्रममा उनले भनिन्, ‘जुन चुनौती लिएर हामी अगाडि बढेका थियौं त्यो सफल भयो । दर्शकको साथ पाएका छौं । त्यसकारण बैशाख १ मा चलचित्र लगाएर मैले सही निर्णय गरेँ जस्तो लाग्छ ।’

सुनील कुमार थापा निर्मित चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतको अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन् ।