पल शाह प्रकरणमा नाबालिगले बयान फेरिन्



अभिनेता पल शाहले बलात्कार गरेको आरोप लगाएकी नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार नाबालिगको तर्फबाट भएको बकपत्रमा उनले आफूमाथि शाहले बलात्कार नगरेको बयान दिएकी हुन् ।

अदालतसमक्ष उनले शाहले आफूलाई करणी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जाहेरीमा सारेको, अरुको उक्साहटमा जाहेरी दिएको बताएकी छन् । नाबालिगको पक्षबाट वकालत गर्ने कानुन व्यवासायीले दबाब र प्रलोभनमा परेर नाबालिगले बयान फेरेको हुनसक्ने आशंका गरेका छन् । नाबालिगको बुवा र आमाको बकपत्र भने बाँकी छ ।

म्युजिक भिडियो सुटिङका क्रममा शाहले पटक-पटक करणी गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको भन्दै गत फागुन ११ गते नाबालिगले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी थिइन् । फागुन १५ गते नवलपरासी पूर्वमा पनि उनै नाबालिगले शाहविरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा फागुन १५ गते पल शाह पक्राउ परेका थिए ।

प्रहरीको अनुसन्धान सकिएपछि तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० मा शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । योसँगै उनी जिल्ला कारागार चलान भएका थिए । पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाहले उच्च अदालत पोखरामा निवेदन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu