नयनराज पाण्डेलिखित चर्चित उपन्यास ‘उलार’ अब रंगमञ्चमा प्रस्तुत हुने भएको छ । यही बैसाख ६ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने नाटक चे शंकरको परिकल्पना तथा निर्देशनमा प्रस्तुत हुन लागेको हो ।
गार्डेन थिएटरको कथा घेरासँगको सहकार्यमा मञ्चन हुने नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईंलगायत कलाकार मुख्य भूमिकामा देखिनेछन् । शंकरको निर्देशनमा यसअघि ‘सेम टाइम नेक्स इयर’, ‘लुक ब्याक इन एंगर’, ‘तिर्खा’, ‘ऊ मरेकी छैन’, ‘कोही किन बरबाद होस्’, ‘मिस्टर फक्स एन्ड स्कुल ब्वाय’लगायत नाटक मञ्चन भइसकेका छन् ।

२५ वर्षअघि प्रकाशित उलार नेपालगञ्जको परिवेशमा बुनिएको ‘उलार’ सीमान्त तहका जनताको संघषको कथा हो । नयनराज पाण्डेको महत्वपूर्ण कृतिका रुपमा रहेको ‘उलार’ को कथा र यसले उठाएका मुद्दा वर्तमान नेपाली समाजमा सान्दर्भिक रहेको निर्देशक शंकरको भनाइ छ ।
पाठकले निकै रुचाएको उलारका पात्र र कथालाई नाटकका रुपमा दर्शकमाझ ल्याउने काम चुनौतीपूर्ण भए पनि आफू उत्साहित रहेको उनले बताए । उनले नाटक मञ्चनका लागि एक महिना बढी रिहर्सल गरेको बताए । नाटक बैसाख ६ देखि १८ सम्म मञ्चन हुनेछ ।