प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक भएको ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माबीचको प्रेममा आउने उचार-चढावलाई प्रस्तुत गरिएको छ । अफिसको सिइओ र कर्मचारीबीचको प्रेमलाई चलचित्रले प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरमा कमेडी र रोदन पनि मिश्रित छ ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । निमेष प्रधानको निर्देशन तथा लेखन रहेको चलचित्रमा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्र ‘आदित्य फिल्मस्’को ब्यानरमा निर्माण भएको हो ।
कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको चलचित्रमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । शिशिर राणा र निमेष प्रधानले मिलेर चलचित्रको संवाद लेखेका हुन् । ‘सम्झना बिर्सना’ पूजा र आकाशको चौथो सहकार्य हो । उनीहरु यो चलचित्रलाई लिएर निकै उत्साहित देखिएका छन् ।


