हिन्दी डब चलचित्र रोक्न बोर्डले गर्‍यो मन्त्रालयसँग आग्रह



चलचित्र विकास बोर्डले नेपालमा साउथ चलचित्रको हिन्दी डबको प्रदर्शन रोक्न आग्रह गर्दै सञ्चार तथा सूचना मन्त्रालयलाई पत्रचार गरेको छ । मंगलवार बोर्डमा बसेको बैठकले हिन्दी डब चलचित्र रोक्नका लागि मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको थियो । हिन्दी भाषामा डब भएका चलचित्रको प्रदर्शनलाई रोक्नका लागि मात्र मन्त्रालयलाई पत्रचार गरिएको बोर्ड अध्यक्ष दयाराम दाहालले बताए ।

बोर्डको निर्णयमा मन्त्रालयले लालमोहर लगाएको खण्डमा हिन्दीमा डब भएका भारतका विभिन्न प्रान्तिय भाषा (तमिल, तेलुगू, कन्नड लगायत) का चलचित्र नेपाल भित्रिन पाउने छैनन् । त्यस्तै, बोर्डले देशभरका प्रदर्शकहरुलाई कार्यालयमा बोलाएर अबदेखि सिनेमा हलले नेपाली र विदेशी चलचित्रको शो संख्या राख्दा र टिकट दर निर्धारण गर्दा बोर्डबाट अनुमति लिन निर्देशन दिएको छ ।

मंगलवार बोर्डका पदाधिकारीहरुसँगको छलफलमा प्रदर्शकहरुले चौबीसै घण्टा सिनेमा हल सञ्चालन गर्ने नियम ल्याउन आग्रह गरेका छन् । यसबारेमा बोर्ड सकारात्मक देखिएको छ । दर्शकहरु आउने स्थिति भए सुरक्षाको मापदण्ड पालन गरेर जुनसुकै समयमा हल चलाउन पाइने व्यवस्था लागू गर्न बोर्डले सञ्चार र गृह मन्त्रालयसँग आग्रह गर्ने निर्णय गरेको जानकारी प्राप्त छ ।

अहिले बिहान साढे ६ बजे सुरुदेखि राति १० बजेसम्म हल चलाउन पाइने व्यवस्था छ । तर, राजधानीका केही हलहरुले चलचित्र विकास बोर्डबाट अनुमति नै नलिइ र टिकट दर उल्लेख नगरी साउथ चलचित्र ‘केजीएफ : च्याप्टर–२’लाई मध्यराती पनि चलाएका थिए । गृह मन्त्रालयले सुरक्षा दिने प्रतिबद्धता जनाएको अवस्थामा मात्र हलहरु चौबीसै घन्टा सञ्चालनमा आउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu